इटहरी : इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा मतदानबाट विद्यार्थीहरूले क्याप्टेन र भाइस क्याप्टेनहरू चयन गरेका छन् ।
विद्यालयमा विद्यार्थीहरूले नेतृत्व चयन गर्दा अपनाइएको प्रक्रियाले संसदीय निर्वाचनको झल्को दिएको छ । स्कुलमा क्याप्टेन, खुला र छात्रा गरी दुईजना भाइस क्याप्टेनहरू चयन गर्न सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो ।
विद्यालयमा विद्यार्थीहरूको नेतृत्वका लागि दाबी गरेका प्रतिस्पर्धीहरूबीच सहमति नभएपछि मतदान प्रक्रियामार्फत चयन गरिएको विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले जानकारी दिए ।
विद्यालयमा भएको मतदानबाट क्याप्टेनमा गौरव खड्का चुनाव चिह्न (डमरु) विजयी भएका छन् । उनले १३१ मत प्राप्त गरे ।
यसैगरी भाइस क्याप्टेन खुलामा टेलिफोन चुनाव चिह्नकी खुसी विष्टले ८९ मत र भाइस क्याप्टेन छात्रातर्फ दृष्टिका बाँस्कोटाले चुनाव चिह्न गितारमा १२० मत प्राप्त गर्दै विजयी भए ।
प्रमुख निर्वाचन आयुक्त रमेश निरौलाका अनुसार हाउस क्याप्टेनहरूमा क्रमशः ग्रीन हाउसबाट हिमाल रानामगरले खुर्सानी चुनाव चिह्नमा १०५ मत, रेड हाउसकी आरजू भट्टराईले रकेट चुनाव चिह्नमा ९६ मत, ब्लु हाउसका सचिन विश्वासले फुटवल चुनाव चिह्नमा १०३ मत र यल्लो हाउसका निश्चल घिमिरेले कुखुरा चुनाव चिह्नमा ९५ मत ल्याई विजयी भएका हुन् ।
मतदानमा विद्यालयका कक्षा ३ देखि १० सम्मका तीन सय, चारजना विद्यार्थीहरू सहभागी थिए । मतदानमार्फत क्याप्टेन र भाइस क्याप्टेन चुन्ने प्रक्रियामा विद्यार्थीहरूलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाइएको थियो ।














Discussion about this post