मोरङ : मोरङको बेलबारीमा एक परिवारका ससुरा र बुहारीमाथि कालो मोसो दलिएको छ ।
सडक निर्माणको विषयमा भएको विवादलाई लिएर बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा मोसो दलिएको हो ।
सुनसरीको धरान उपमहानगरपालिका १२ घर भइ हाल बेलबारी ११ लक्ष्मीमार्गमा बस्दै आएका ७५ वर्षीय विष्ट थरका एक पुरुष र उनकी बुहारी ३७ वर्षीया बस्नेतलाई स्थानीयले कालो मोसो दलेको प्रहरीले जनाएको छ ।
सुम्निमा चोकबाट जुरातर्फ जाने सडक निर्माणका क्रममा स्थानीय र विष्ट परिवारबीच विवाद भएको थियो ।
विवादकै क्रममा कालो मोसो दलेर ससुरा र बुहारीमाथि अमानवीय व्यवहार गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।
कोशी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत करिब साढे १२ किलोमिटर लम्बाइ र २४ फिट चौडाइको सडक निर्माण ३ वर्ष अघिबाट सुरु गरिएको थियो ।
विष्टको जग्गा हुँदै बाटो बन्ने क्रममा छ । निर्माणाधीन सडकले आफ्नो दुवैतर्फको जग्गा काट्ने भन्दै विष्टले विरोध गर्दै आएका छन् । जग्गा धनीसँगको विवादका कारण सडक निर्माणले गति लिन सकिरहेको छैन ।
उक्त सडक निर्माण तत्काललाई अगाडि नबढाउन र जग्गा धनीसँग सहमति गरेर मात्रै काम गर्न उच्च अदालत विराटनगरले वैशाख ६ गते आदेश दिएको थियो ।
अदालतको आदेशपछि पनि जबरजस्ती काम अघि बढाउन खोजेको भन्दै जग्गा धनी विष्टका परिवार विरोधमा उत्रिएका थिए । उनीहरुले तत्काललाई सडकको काम अघि नबढाउन आग्रह गरे । त्यही विषयलाई लिएर विष्ट परिवार र स्थानीयबीच विवाद भएको प्रहरीले जनाएको छ ।
विवादकै क्रममा स्थानीयको भीडले गालीगलौज गर्दै लछारपछार पारेर विष्ट र उनकी बुहारीलाई शुक्रबार दिउँसो कालो मोसो दलेको एसपी कार्कीले बताए ।
कालो मोसो दलेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजना स्थानीयलाई पक्राउ गरेको छ । ज
जाहेरीका आधारमा बेलबारी ११ का ४० वर्षीय माधव बास्तोला, ४२ वर्षीय नगेन्द्र मिश्र, ६२ वर्षीय मोहन घिमिरे, ३१ वर्षीया संगीता लुइँटेल र पुतली खवासलाई पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए ।
घटनामा संलग्न भनिएकी एक जना महिला फरार रहेकाले खोजी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post