विराटनगर : अत्यधिक गर्मी बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई सिलिङ पंखा उपलब्ध गराएको छ ।
विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ वटा सामुदायिक विद्यालयहरूलाई सिलिङ पंखा उपलब्ध गराएको महानगरले जनाएको छ ।
सोमबार महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यबाहक मेयर मधुबाबु तिवारी र सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरूलाई पंखा हस्तान्तरण गरे ।
केही दिनयता विराटनगरसहित कोशी प्रदेशमा अत्यधिक गर्मी बढेको छ । जसका कारण पंखा नहुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू प्रभावित भएका छन् ।
चालु आर्थिक वर्षको विनियोजित बजेटबाटै पंखा खरिद गरेर विद्यालयलाई वितरण गरिएको कार्यबाहक मेयर तिवारीले जानकारी दिए ।
मेयर नागेश कोइरालाले गत वर्ष नै सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पंखा जडान गर्ने घोषणा गरेका थिए । मेयर कोइरालाको घोषणापछि चालु आर्थिक वर्षको बजेटमा पंखा खरिदका लागि बजेटसमेत विनियोजनसमेत गरिएको थियो ।
पहिलो चरणमा महानगरले एकैपटक ५ सय थान पंखा वितरण गरेको छ । शैक्षिक प्रशासन महाशाखाका अधिकृत सुशील दाहालका अनुसार प्रति विद्यालय ५ देखि २० थानसम्म सिलिङ पंखा उपलब्ध गराइएको छ ।
सामुदायिक विद्यालयमा एक हजार पंखाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल ५ सय पंखा वितरण गरिएको दाहालको भनाइ छ । तत्काललाई पाँच सय पंखा उपलब्ध गराएसँगै विद्यालयहरूलाई जडान गर्न भनिएको छ ।
शैक्षिक प्रशासन महाशाखाअन्तर्गत आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा विनियोजित २० लाख रकम अनरूप सामुदायिक तथा धार्मिक विद्यालयले पंखा पाएका छन् ।
विराटनगर महानगरपालिकामा पंखा आपूर्तिका लागि मोरङ सुन्दरहरैंचाको मनोकामना अटो मोबाइल्सले ठेक्का लिएको थियो ।













Discussion about this post