झापा : बाढीको प्रकोपबाट हुने क्षति कम गर्न, प्रकोपपछि उद्धार, प्राथमिक उपचार र राहत वितरणसम्बन्धी सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापनको संयुक्त टोलीद्वारा आज मेचीनगरको निचाझोडा सिमसार क्षेत्रमा विपद् पूर्वको अभ्यासबारे बृहत् प्रदर्शन गरेको हो ।
संयुक्त प्रदर्शनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला रेडक्रस सोसाइटी, विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षक, जनप्रतिनिधिलगायतको सहभागिता थियो । नेपाली सेनाको अरिदमन गण चारआलिको समन्वयमा सो प्रदर्शन गरिएको हो ।
बर्खायाममा बाढी तथा डुबानको सम्भावना रहेकाले उक्त विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी स्वरुप संयुक्त अभ्यास प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक बन्धुप्रसाद बाँस्तोलाले बताउनुभयो ।
उहाँले झापाका सबै स्थानीय तहहरूलाई विपद् व्यवस्थापनको तयारीमा जुट्न आह्वान गर्नुभयो ।
विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि तालिम प्राप्त दक्ष जनशक्तिले बाढीको विपद्का बेला गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन् ।
उक्त प्रदर्शनमा बाढीको प्रकोपको बेला हुने गरेको क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने तत्कालीन उपायहरूबारे प्रदर्शन मार्फत सहभागीलाई जानकारी गराइएको थियो ।
जिल्लाका १५ स्थानीय तहमध्ये छ वटा बाढीको उच्च जोखिममा, पाँच वटा मध्यम जोखिममा छन् भने चार स्थानीय तहमात्र बाढीको कम जोखिममा छन् ।














Discussion about this post