भेडेटार (धनकुटा) : धनकुटाको साँगुरीगढीमा कविता महोत्सव कार्यक्रमको आयोजना गरिएको छ ।
इनामे सेवा समाजको आयोजनामा शनिबार धनकुटाको साँगुरीगढी ६ थुम्कीस्थित कविता महोत्सव कार्यक्रमको आयोजना गरिएको हो ।
महोत्सवमा विभिन्न जिल्लाबाट आएका कविहरूले कविता वाचन गरेका थिए ।
कविहरू मनु मञ्जिल, देवान किराती, प्रकाश थाम्सुहाङ, राजकुमार राई अनिश्चित, सीमा आभास, मुकुन्द प्रयास, हेमन यात्री, केजी सुब्बा, सुन्दर कुरुप, विराट किराती, राज माङ्लाक, प्रदीप मेन्याङ्बो, जनकऋषि राई, रोशन परियार, जेबी निखुन्त, दिवा चेम्जोङ, जीवन आरोही, कमल चेम्जोङ, (याक्थुम्बा कान्छा) रेजिना आपागाईँ र सुवा संगम राईले कविता वाचन गरेका थिए ।
कार्यक्रममा पालिकास्तरीय कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो । आयोजक इनामे सेवा समाजका प्रवक्ता अनुप सुब्बाका अनुसार प्रतियोगितामा एक सय सातवटा कविता समावेश भएको र जसमध्ये उत्कृष्ट १० कविता छनोट गरिएको थियो ।
छनोटमा परेका कविहरूले कविता वाचन गरेका थिए ।
जसमध्ये प्रमिला मुकारुङ, अशोक किरात र धनीशकर याख्या क्रमशः प्रथम, द्धितीय र तृतीय भए । उनीहरूलाई नगद १५ हजार, १० हजार पाँच हजारसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीका अनुसार प्रतिष्ठानले भाषा, कला, साहित्यको प्रबद्र्धनका निम्ति निरन्तर सकारात्मक काम गरिरहेको छ ।
‘हामीले निरन्तर भाषा, कला र साहित्यको प्रबद्र्धनका निम्ति काम गरिरहेका छौँ,’ उनले भने, ‘खासगरी मातृभाषाको संरक्षणका निम्ति पनि प्रतिष्ठानले निरन्तर मातृभाषा साहित्य श्रृङ्खला कार्यक्रमको आयोजना पनि गरिरहेको छ ।’
कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले सांस्कृतिक र साहित्यिक कार्यक्रमको उत्थानका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको बताए ।
‘एउटा भाषा म¥यो भने, एउटा संस्कृति म¥यो भने, एउटा सभ्यता सकियो भने हामी मानव हुनुको अर्थ रहँदैन,’ उनले भने, ‘अब हामी बाटो खनेर होइन, मानवीय विकास गर्ने तयारीमा छौँ ।’
उनले साँगुरीगढीलाई पर्यटकीय मात्रै नभई साहित्यिक क्षेत्रमासमेत अगाडि बढाउने उदेश्यले पालिकाले विभिन्न सृजनशील कार्यक्रमको आयोजना गर्ने बताए ।
आयोजक संस्थाका अध्यक्ष अरुण देवाले कार्यक्रममा आमन्त्रितहरूलाई धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि सृजना र साहित्यको क्षेत्रमा काम गर्ने सुनाए ।














Discussion about this post