विराटनगर : विराटनगरमा घरको फ्ल्याट नै भाडामा लिएर विभिन्न अनलाइन ब्याटिङ साइटमार्फत सट्टेबाजीको कारोबार र अनलाइन ठगीको धन्दा चलाउने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार अनलाइन गेम खेलाएर सट्टेबाजीको कारोबार गर्ने र ठूलो रकमको चिट्ठा पर्यो भन्दै सर्वसाधारणमाथि अनलाइनमार्फत ठगी गर्ने गिरोहका पाँचजनालाई बुधबार दिउँसो पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका ३ का २० वर्षीय दीपक मण्डल, मोरङको जहदा गाउँपालिका १ का २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर महानगरपालिका १६ का ३० वर्षीय जनार्दन यादव र २६ वर्षीय सिकिन्दर यादव रहेका छन्।
उनीहरूले अवैध हुण्डी कारोबारको धन्दा पनि चलाइरहेको हुनसक्ने प्रहरीको अनुमान छ।
विराटनगर १५ स्थित सोहिता कर्णको घरको दोस्रो तलामा ४ वटा कोठा रहेको फ्ल्याट भाडमा लिएर अवैध धन्दा चलाइरहेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीले पक्राउ परेकाहरू बस्दै आएको कोठामा खानतलासी गरेर विभिन्न बैंकका एटीएम कार्ड, चेकबुक, नेपाली तथा भारतीय सिमकार्ड, भारतीय आधार कार्ड तथा नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकललगायत बरामद गरेको छ।
डीएसपी बस्नेतका अनुसार ठूलो र सानो गरेर १६ वटा मोबाइल, एटीएम ४४ वटा, भारतीय सिमकार्ड १३ वटा, नेपाली सिमकार्ड १९ वटा, विभिन्न बैंकका १५ वटा चेकबुक, विभिन्न व्यक्तिका नाममा काटिएका १३ वटा चेक, १ जीबीको एउटा हार्ड डिक्स, स्ट्याम प्याड, इलेक्ट्रिक फिङ्गर प्रिन्ट, क्यालकुलेटर, ३ वटा भारतीय आधार कार्डलगायत बरामद गरिएको छ।
त्यस्तै नेपाली सवारी चालक अनुमति पत्र (लाइसेन्स) र एउटा भारतीय सवारी चालक अनुमति पत्र १–१ वटा, भारतीय सवारी दर्ता किताब २ वटा, विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर १५ वटा, आयकर कार्ड एउटा तथा १ हजार ६ सय ५ रूपैयाँ नगदसमेत बरामद भएको उनले बताए।
बस्नेतका अनुसार २ वटा भारतीय र एउटा नेपाली नम्बर प्लेटको गरेर ३ वटा मोटरसाइकलसमेत बरामद गरिएको छ। प्रहरीले बीआर २८ डब्लु २४४१, बीआर ३८ एएफ १७६४ र ज ८ प ६९०८ नम्बरको मोटरसाइकल बरामद गरेको जनाएको छ ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
















Discussion about this post