विराटनगर : विराटनगरमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई अवैध हिसाबले यौन धन्दामा लगाउने गरिएको पाइएको छ ।
आकर्षक रोजगारी दिने भन्दै प्रलोभनमा पारी युवतीहरूलाई यौन धन्दामा प्रयोग गर्ने गरेको पाइएको हो । प्रहरीले फ्ल्याटबाट ६ जनालाई उद्धार गरेको छ ।
वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको डीएसपी बुद्ध श्रेष्ठ नेतृत्वको टोलीले भाडाको फ्ल्याटमा छापा हानेर गत शुक्रबार २१ देखि २३ वर्ष उमेर समूहका युवतीहरूको उद्धार गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार उद्धार गरिएकामध्ये काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १/१ जना तथा झापाका २ जना छन् ।
सुनसरीको इनरुवाका अन्दाजी ३० वर्षीय राजकुमार साह र झापा गरामनीकी २३ वर्षीया सन्ध्या चुँडालले विराटनगर महानगरपालिका् ११ स्थित नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई यौन व्यवसायमा लगाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
एसपी कार्कीका अनुसार साह र चुँडालले मोहन सिटौलाको दुई तले घरको भुइँ तलाको फ्ल्याट भाडामा लिएर युवतीहरूलाई राख्ने गरेको खुलेको छ ।
उनले भने, ‘आकर्षक रोजगारीको प्रलोभनमा पारेर काठमाडौंलगायत विभिन्न ठाउँबाट झिकाइएका युवतीहरूलाई आफ्नो सम्पर्कमा रहेका व्यक्तिसँग जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गर्दा रहेछन् ।’
साह र चुँडालले यौन व्यवसायमा लगाउने नाममा युवतीहरूलाई चरम यातनासमेत दिने गरेको एसपी कार्कीको भनाइ छ ।
‘कुटपिट गरेको चोट र निलडाम शरीरभरि छ । हातलगायत शरीरका विभिन्न भागमा चुरोटका ठुटाले पोलेको घाउहरू देखिन्छ,’ उनले भने, ‘आफूहरूले भनेको नमानेमा युवतीलाई कुटपिट गर्दै यातना दिने गरिँदो रहेछ । यातना र शोषणको पीडासहित युवतीहरूले प्रहरीलाई खबर गरेका थिए ।’
युवतीलाई कुटपिट गर्दै यातना दिएर जरबजस्ती यौन क्रियाकलापमा लगाउनेमध्ये चुँडाललाई प्रहरीले पक्राउ गरेको छ । चुँडालका व्यावसायिक साझेदार साह भने फरार भएका छन् । उनको खोजी भइरहेको छ ।
उनीविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।














Discussion about this post