इटहरी : इटहरीमा जंगली हात्तीले दुईवटा घर भत्काएको छ । सोमबार राति आएका हात्तीका बथानले घर भत्काएको हो ।
इटहरी २ शान्तिनगरस्थित अृमतबहादुर मगर र उनका छिमेकी श्रेष्ठ थरीका व्यक्तिको घर हात्तीले भत्काएको स्थानीय रोशन अधिकारीले जानकारी दिए ।
उनका अनुसार सोमबार राति ८ बजेदेखि नै आएका हात्तीका बथानले मंगलबार बिहानको राति घर भत्काएको हो । एउटा पक्की भुइँ घर र अर्को कच्ची भुइँ घर भत्काएको उनले बताए ।
‘घर भत्काएर धान, चामल खाएको पाइयो । मानवीय क्षति भने भएन,’ उनले टाकुरासँग भने, ‘आजकाल रातभर हात्ती धपाउन जाग्राम बस्नुपर्ने बाध्यता छ ।’
गएराति एक दर्जन बढीको संख्यामा हात्तीका बथान मानव बस्ती पसेका थिए । स्थानीयबासीले धपाएपनि बिहानको राति भने घर भत्काएको बताइएको छ ।
अधिकारीकाअनुसार उक्त क्षेत्रमा बर्सेनि हात्तीका बथान आउने र क्षति गर्ने गरेका कारण प्रशासनसँग सहयोगको अपिल गरिएको छ ।
उक्त क्षेत्रमा हात्तीको जोखिम निकै भएका कारण तरहराको पानीपियादेखि शान्तिनगरको सरस्वती टोल विकास क्षेत्रसम्म ‘टावर लाइट’ लगाउन अवाश्यक रहेको उनले बताए ।
‘टावर लाइट र सोलार फेन्सिङ लगाउँदा हात्ती आएको देखिन्थ्यो । जसले गर्दा मानवीय क्षतिसमेत हुन नदिन सजक हुन पाइन्थ्यो,’ उनले भने, ‘हामीले यसबारे इटहरी उपमहानगरलाई पनि जानकारी गराएका छौँ । टावर लाइट र सोलार फेन्सिङ हुँदा दीर्घकालीनसम्म सहज हुनेथियो ।’
हात्ती मानव बस्तीमा आए, नआएको थाहा पाउन उक्त लाइटका कारण सहज हुने भएकाले तत्कालै लाइट जडान गर्नुपर्ने अधिकारीले बताए ।












Discussion about this post