मोरङ : मोरङमा हात्तीको छावा मृत फेला परेको छ । जिल्लाको बेलबारी नगरपालिका–३ करमडाँडामा मंगलबार (आज) बिहान जंगली हात्तीको बच्चा (छावा) मृत फेला परेको हो ।
सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख, वन अधिकृत दिपेशकुमार मिश्रका अनुसार अन्दाजी २–३ वर्षको जस्तो देखिने पोथी हात्ती मृत फेला परेको हो । उनका अनुसार स्थानीय विनोद थापाको टिक बगानमा हात्तीको छावा मृत फेला परेको हो ।
उनका अनुसार हात्तीको छावा मारिएको हो कि, आफैं मरेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । मिश्रले घटनाका बारेमा कोशी टप्पु वन्यजन्तु आरक्षलाई खबर गरिसकिएको र अनुसन्धानपछि मात्रै सबै कुरा प्रष्ट हुने जानकारी दिए ।
‘कोशी टप्पुबाट अनुसन्धानका लागि विज्ञको टिम आउँदै छ,’ उनले भने, ‘पोस्टमार्टम गरेर रिपोर्ट आइसकेपछि मात्रै छावाको मृत्युको कारण प्रष्ट हुन्छ ।’
अहिले घटनास्थलमा वन कर्मचारी र इलाका प्रहरी कार्यालय बेलबारीको टोली खटिएको छ । यससँगै मोरङमा सात महिनाको अवधिमा तीन वटा जंगली हात्ती मृत फेला परिसकेका छन् ।
सुन्दरहरैँचा नगरपालिका–६ मा भाले जातको छावा गत जेठ ३० गते बिहान मृत भेटिएको थियो भने सुन्दरहरैंचा–१० स्थित जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिव १२ वर्षको जंगली हात्ती २०८० पुस १६ गते मृत फेला परेको थियो ।












Discussion about this post