झापा : मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले विर्तामोड नगरपालिका क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) निर्माण आजदेखि सुरु गरिएको छ ।
विर्तामोड नगरपालिका–६ को देउनिया खोलाको पुलदेखि वडा नम्बर–८ को किनसभिट्टासम्मको नौ किलोमिटर क्षेत्रमा विद्युतीय तारवार निर्माण सुरु गरिएको हो । मानव वस्तीमा हात्ती छिर्न नदिन राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ पर्ने हरियाली सामुदायिक वनको क्षेत्रमा विद्युतीय तारबारको निर्माण गरेको जनाएको छ ।
नेपाल सरकारको रु एक करोड ३२ लाख ३६ हजारको लगानीमा तारबार निर्माण सुरु भएको संरक्षण कोष कोशीका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । यसको ठेक्का फुङ्फुङ्गे शैलेश्वरी निर्माण सेवाले लिएको छ । ठेक्का सम्झौताअनुसार २०८१ कात्तिक २९ गतेसम्ममा योजना सम्पन्न गरिसक्नुपर्ने उहाँको भनाइ छ ।
विद्युतीय तारवारका कारण दैनिक गाउँ पसेर दुःख दिँदै आएको हात्ती नियन्त्रण हुनेमा आफू विश्वस्त रहेको नगरप्रमुख पवित्रा महतराले बताउनुभयो । उहाँले विद्युतीय तारवारको शिलान्यास गर्नुभएको छ । उहाँले बढ्दो मानवीय क्षति कम गर्न र हात्तीलाई घेराबार गरेर सामुदायिक वनभित्र मनपर्ने आहाराको व्यवस्था गर्न पालिका लाग्ने बताउनुभयो ।
संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमले यसअघि जिल्लामा बाहुनडाँगीमा १८ किलोमिटर, जलथल र चाराआलीमा क्षेत्र गरी ७६ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार भइसकेको जानकारी दिनुभयो ।
यहाँ जडान गरिएको ‘अफसेट’ सोलार प्यानलको विद्युतीय तारबार हुलमा आउने हात्ती नियन्त्रणका लागि प्रभावकारी हुने उहाँको भनाइ छ ।














Discussion about this post