झापा : झापामा एक महिलाले क्लिनिकको शौचालयमा शिशु जन्माएर फरार भएपछि प्रहरीले खोजी गर्ने क्रममा पक्राउ गरेको छ ।
जिल्लाको हल्दिबारी –१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरी पक्राउ गरिएको हो । उनी बिर्तामोड –१० की भएको बताइएको छ । मृत शिशुको पोस्टमार्टम भई नसकेकाले ती महिलालाई प्रहरीले निगरानीमा राखेको छ ।
पोस्टमार्टम रिपोर्ट आइसकेपछि उनीमाथि कारबाही गर्ने जनाइएको छ । सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको छ । शनिवार दिउँसो २ः३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको थियो ।
ती महिला पेट दुखेर अस्पतालमा आएको र शौचालयभित्र शिशु जन्माएर फरार भएको पाइएको प्रहरीले जनाएको छ ।
महिला तथा बालबाकासम्बन्धी कुरा भएकाले हाललाई पक्राउ परेकी महिलाको नाम सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post