विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान हुने बताएका छन् ।
महानगर बहुप्राविधिक शिक्षालय विराटनगरबाट डिप्लोमा र प्रि–डिप्लोमा गरेका विद्यार्थीहरूको बिदाई समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्राविधिक शिक्षालाई प्राथमिकतामा नराखेसम्म बेरोजगारी समस्या समाधान नहुने दाबी गरे ।
महानगरपालिकाले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको उनको भनाइ थियो ।
‘कम्प्युटर इन्जिनिरिङ, आइटी र विश्वबजारमा के माग भइरहेछ त्यसअनुसारको शिक्षा दिन सकेमा कोही पनि बेरोजगार बस्नुपर्दैन,’ उनले भने, ‘आइटीसम्बन्धी राम्रो ज्ञान भएको व्यक्तिले घरमै बसेर पनि राम्रो कमाइ गर्न सक्नेछ ।’
अहिले पनि धेरै युवाले नेपालमै बसेर विदेशको काम गरिरहेको उनले बताए । गत आर्थिक वर्ष ६४ अर्बभन्दा बढी आईटी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्रिएको मेयर कोइरालाले बताए । अहिलेको शिक्षण पद्धतिबाट माथि उठ्नुपर्नेमा उनले जोड दिए ।
मेयर कोइरालाले आफूले प्राप्त गरेको ज्ञान र सीपलाई स्वदेशमै प्रयोग गर्न बहुप्राविधिक शिक्षालयबाट विदाई भएका विद्यार्थीहरूलाई आग्रहसमेत गरे । आफूले प्राप्त गरेको सीप र ज्ञानलाई जतिसुकै बेला पनि प्रयोग गर्न सकिने उनको कथन थियो ।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेलले महानगरको र अभिभावकको इज्जत र प्रतिष्ठामाथि उठाउने गरी कार्य गर्न बहुप्राविधिक शिक्षालयबाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई आग्रह गरे ।
महानगर बहुप्राविधिक शिक्षालय सञ्चालक समिति सदस्यसमेत रहेका पोखरेलले बहुप्राविधिक शिक्षालयलाई अझै व्यवस्थित र गुणस्तरीय बनाउँदै लग्न आफूहरू प्रतिबद्ध रहेको सुनाए ।
कार्यक्रममा शिक्षालयका प्राचार्य प्ररिवेश पराजुली, महेन्द्र रात्रि माविका प्रधानाध्यापक झङ्क पराजुली, शिक्षक प्रल्हाद भट्ट, अरुणकुमार कर्णलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
आर्टिटेक्चर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिक इन्जिनियरिङ, जेमेक्ट्रिक इन्जिनियरिङलगायत पठनपाठन हुन्छ । महानगर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा र प्रि–डिप्लो पूरा गरी ८० जना विद्यार्थी पास आउट भएका छन् ।
कार्यक्रममा खादा, अविर लगाई मायाको चिनो प्रदान गरेर विद्यार्थीहरूको बिदाई गरिएको थियो ।














Discussion about this post