धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक फेल भएर दुर्घटनाग्रस्त ट्रकमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड ट्रक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि अचानक आगलागी भएको हो।
दुर्घटनाको सूचना पाएलगत्तै अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोली घटनास्थल पुगेको थियो।
आगलागीमा परी भोजपुरका ३० वर्षीय चालक विशाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकबाट बाहिर निस्कन सफल भए पनि शरीरमा लागेको गम्भीर आगोका कारण उनको ज्यान जोगिन नसकेको प्रहरीको भनाइ छ।
दुर्घटनामा तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सहचालक सञ्जीव सङ्ग्रौला भने सकुशल रहेका छन्।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएपछि ट्रक दुर्घटनाग्रस्त भई आगलागी भएको देखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
















Discussion about this post