विराटनगर : विराटनगर महानगरपालिका अन्तर्गत रहेको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजना एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न भएको छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को समेत सहआयोजना रहेको कार्यशाला आदर्श माविमा भएको थियो ।
कार्यशालामा सहभागी विज्ञान शिक्षकहरुलाई भारतबाट आएका डा. रफिक रासिद शेखले प्रशिक्षण दिएका थिए ।
उनले शिक्षकहरूलाई फोल्डस्कोप (सानो माइक्रोस्कोप)का बारेमा जानकारी दिनुका साथै त्यसको उपयोग गरी शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउने भन्ने विष्वायमा प्रशिक्षण दिए ।
विज्ञान शिक्षकहरूलाई सूक्ष्मदर्शी जीवदेखि विशाल ब्रम्हाण्डलाई अवलोकन गर्न विभिन्न स्रोत साधनहरुबारे जानकारी दिए । उनले सहभागी सबै शिक्षकहरूलाई एक–एक थान फोल्डस्कोपसमेत उपलब्ध गराए ।
समापन समारोहमा महानगरपालिकाका मेयर नागेश कोइरालाले सहभागी शिक्षक–शिक्षिकाहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
मेयर कोइरालाले खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिले निकै महत्वपूर्ण कार्य गरिरहेको आफूले पाएको बताए । उनले समितिलाई आवश्यक पर्ने सहयोग महानगरले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मेयर कोइरालाले शिक्षक–शिक्षिकाहरूलाई सिकेको सीप र ज्ञानलाई विद्यार्थी जानकारी दिई विज्ञान तथा प्रविधितर्फ उनीहरुलाई आकर्षित गर्न आग्रह गरे ।
कार्यक्रममा अनुसन्धान समितिका अध्यक्ष प्रविणकुमार विश्वास, उदीप पोखरेल, ओशन शर्मा कट्टेल, आदित्य झा, प्रितम साहलगायतले फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला निकै फलदायी भएको बताए ।
माइक्रोस्कोपको आकार ठूलो हुनुका साथै महँगो र उपयोग गर्न जटिल भएकाले फोल्डस्कोप प्रारम्भिक सिकाइका लागि निकै उपयोगी हुने आयोजक समितिका पोखरेलको भनाइ छ ।
फोल्डस्कोप सानो र गोजीमै बोक्न सकिने भएकाले बढी उपयोगी हुने पोखरेलले बताए । कार्यशालामा विराटनगरका १० वटा सामुदायिक विद्यालयका २० जना प्रतिनिधि विज्ञान शिक्षकहरुको सहभागिता रहेको थियो ।














Discussion about this post