धरान : आज पौष २५ गतेदेखि धरान रंगशालामा ‘धरान एक्स्पो २०८१’ सुरू भएको छ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भएको एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरे ।
उद्घाटन समारोहमा संघका पदाधिकारी, स्थानीय नेताहरू र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उद्घाटन गर्दै प्रमुख अतिथि उपप्रधानमन्त्री सिंहले व्यापारिक प्रदर्शनीहरूले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले भने, “एक्स्पोले स्थानीय उद्योग–व्यवसायलाई बलियो बनाउन र आर्थिक मन्दी चिर्न महत्त्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास लिएको छु। यो पहलले समग्र क्षेत्रको आर्थिक गतिविधिलाई पनि गति दिनेछ भन्ने अपेक्षा छ।”
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले आर्थिक मन्दीको समयमा यस्ता गतिविधिले उद्योग–व्यवसायमा सकारात्मक प्रभाव पार्ने बताए ।
उनले भने, “हामीले एक्स्पो अर्थतन्त्र चलायमान गराउन आयोजना गरेका हौं । बजारमा माग घटेको, उद्योग क्षेत्र धरमराएको अवस्थामा एक्स्पोले आर्थिक सुधारमा टेवा पुर्याउनेछ ।”
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले धरानलाई व्यापारिक केन्द्र बनाउने उद्देश्यले यस्ता मेला र प्रदर्शनीहरूलाई निरन्तरता दिन उपमहानगरपालिकाले सधैं साथ दिने बताए ।
“आर्थिक चलायमान बनाउन एक्स्पो मात्र नभई विभिन्न कार्यक्रम गर्नुपर्छ । र हामी त्यसमा साथ दिन तयार छौं,” उनले भने।
निवर्तमान मेयर तिलक राईले एक्स्पोलाई धरानको एक ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको भन्दै आयोजकलाई बधाई दिए ।
“यो तेस्रो संस्करण हो । र यसले धरानका उद्यमीहरूलाई ठुलो सहयोग पुर्याएको छ,” उनले भने, “यहाँ सस्तोमा गुणस्तरीय सामग्री पाइनुका साथै स्थानीय उत्पादनलाई प्रोत्साहन मिल्छ। सबैले सहभागिता जनाएर सफल बनाउनुपर्छ।”
एक्स्पोमा करिब एक सय पचास वटा स्टलहरू छन् ।
स्टलहरूमा घरेलु उत्पादन, उपभोग्य सामग्री, लत्ताकपडा, इलेक्ट्रोनिक्स, र स्थानीय उत्पादनहरू बिक्रीका लागि राखिएका छन् भने मनोरञ्जनका लागि विशेषतः रोटेपिङ, ड्रागन ट्रेन, बालबालिकाका खेल सामग्रीहरू र साँझ सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको छ।
दिउँसोको समयमा विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाएर रोटेपिङ र अन्य मनोरञ्जनात्मक खेलमा विशेष छुट पाउनेछन् । साँझ ५ बजेपछि प्रवेश शुल्क लाग्ने व्यवस्था गरिएको छ।
एक्स्पो माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।














Discussion about this post