इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयताको पूर्ण रूपमा कार्यान्वयन नभइसकेको बताएका छन् ।
प्रशासनिक संघीयता, वित्तीय संघीयता र राजनीतिक संघीयताले अझै पनि पूर्णता नपाएको उनले बताएका हुन् ।
आज कोशी प्रदेशसभा स्थापनाको सातौँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पनि प्रशासनिक संरचना नबनिसकेको बताए ।
प्रहरी समायोजन लगायतका कामहरूअझै बाँकी रहेको बताउँदै उनले भने, दलहरूले र दलका नेताहरूले अझै पनि केन्द्रकै मुख ताक्ने गरेका छौँ । एक ढंगले यो ठीक पनि होला, तर साना मसिना कुरा पनि निर्णय गर्न सकिरहेका छैनौँ ।
यस्तै, वित्तीय संघीयता कार्यान्वनयमासमेत पाँच वर्षसम्म केही काम हुन नसकेको र अहिले केही काम सुरू गरिएको उनले बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेशको छुट्टै राजस्व कार्यालय स्थापना गर्न लागिएको जानकारी दिए । उनले कार्यालयको नाम अहिलेसम्म नटुंगिएको भएपनि केही दिनमा नै राजश्व हेर्ने गरीको कार्यालय स्थापना गर्ने बताए ।
कार्यालयले स्थानीय तहहरू र संघीय संरचनाहरूसँग समन्वय गरेर राजश्व र करहरू व्यवस्थित गर्ने र बढाउने उनले स्पष्ट पारे ।
मुख्यमन्त्री कार्कीले अनुभवहरूले नै संघीयता बलियो बनाउने भन्दै यो सात वर्षमा बटुलेको अनुभवका आधारमा प्रदेश सरकार अगाडि बढिरहेको जानकारी दिए । उनले अहिलेसम्मको अवस्था हेर्दा कोशी प्रदेशसभा सफल रहेको बताए ।














Discussion about this post