धरान : धरानमा जारी प्रदेश प्रिमियर लिगमा धनकुटाको देउराली युथ क्लब शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार धरान रंगशालमा भएको खेलमा पाँचथरको पाँचथर युनाइटेडलाई ७–० ले पराजित गरेसँगै ४ अंकसहित देउराली युथ क्लब शीर्ष स्थानमा उक्लिएको हो । समान ४ अंक भएको उदयपुरको गाईघाट फुटबल क्लब भने गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।
देउरालीका लागि समीर लिम्बूले ह्याट्रिक गरे भने दीपेन शाक्यले २ गोल तथा वीरेन लिम्बू र ज्ञानेन्द्र भण्डारीले १–१ गोल गरे ।
खेलको म्यान अफ द म्याच घोषित भएका समीर लिम्बूले नगद पाँच हजार पुरस्कार प्राप्त गरे । देउराली युथ क्लबले खेलको सुरुवातदेखि नै पाँचथरलाई दबाबमा राखेको थियो ।
पराजित भएको पाँचथर युनाइटेड अंक तालिकाको पुछारमा पुगेको छ । पाँचथरको दुई खेलबाट १ अंक रहेको छ ।
मंगलबार नै भएको खेलमा उदयपुरको गाइघाट फुटबल क्लबले खोटाङको बुइपा–११ लाई २–० ले पराजित गर्दै ४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको छ । गाइघाटका लागि प्रविन राईले दुवै गोल गरे ।
उनले पहिलो हाफको अन्तिम दुई मिनेटमा दुई गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच समेत घोषित भएका प्रविन राईलाई नगद पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।
पराजित भएको बुइपा–११ भने १ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहन सफल भएको छ ।
लिगमा बिहीबार बिहान धरान रंगशालामा पाँचथर र गाइघाट तथा दिउँसो देउराली र बुइपा–११ बीच खेल हुनेछ भने उक्त खेलले लिगको विजेता उपविजेताको टुंगो समेत लाग्नेछ ।
प्रतियोगितामा ११ जिल्लाका लिग च्याम्पियन क्लबहरूबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए ।
लिग विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख २५ हजार र चौथो हुने टिमले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
Discussion about this post