इटहरी : मोरङ, झापा र धनकुटामा दुर्घटना हुँदा तीन जनाको निधन भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिका–५ हात्तीमुडास्थित भित्री सडक खण्डमा सिटी सफारी मोटरसाइकल एकापसमा ठोक्किएर बुधबार बिहानको राति २ः३० बजेतिर दुर्घटना भएको हो ।
हात्तीमुडाबाट पोठियातिर जाँदै गरेको प्रदेश १–०२–००३ ह ५०१७ नम्बरको सफारी र विपरीत दिशाबाट आउँदै गरेको ज १२ प ६८७२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक बूढीगंगा–५ का २८ वर्षीय फिरोजकुमार सिक्दारको मृत्यु भएको हो ।
दुर्घटनामा परेर सफारी चालक सुनसरीको दुहबी नगरपालिका–११ का ४० वर्षीय निखिल चौधरी र सफारीमा सवार रहेकी ४० वर्षीया शिलादेवी चौधरी घाइते भएका छन् ।
यसैगरी धनकुटा नगरपालिका–६ गोठगाउँमा ट्रकको ठक्करबाट मंगलबार राति पैदलयात्री वृद्धाको मृत्यु भएको छ । धरानबाट हिलेतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ००४९ नम्बरको ट्रकले ठक्कर दिँदा धनकुटा–६ गोठगाउँकी अन्दाजी ७० वर्षीया नन्दकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक र चालक धनकुटा–१ का ३९ वर्षीय भरतकुमार राईलाई नियन्त्रणमा लिएको छ ।
उता, झापाको गौरीगन्ज गाउँपालिका–१ मा कुञ्जीबारीबाट धानगाडातर्फ जाँदै गरेको बा ६५ प ८७८६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर मंगलबार दिउँसो १२ः५५ बजेतिर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर चालक झापाको शिवसताक्षी नगरपालिका–४ का १७ वर्षीय सुरज राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तीन वटै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post