धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामुदायिक विद्यालयहरूलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनुपर्ने बताएका छन् ।
शनिबार धरानमा शिक्षा सदन स्कुलको ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै सामुदायिक विद्यालयको सुधार गरेर अगाडि बढेमा शैक्षिक सुधार हुने उनले बताए ।
उनले अहिले नै निजी विद्यालयहरू बन्द गर्न सम्भव नभएको उल्लेख गर्दै त्यतातिर लाग्न नहुने बताए । केही मानिसहरूको आवाज निजी विद्यालय बन्द गर्नुपर्ने रहेपनि नेपालको कानुन र संविधानसम्मत ढंगले चलेका विद्यालय चल्न दिनुपर्ने बताए ।
सरकारले सरकारी विद्यालयहरूको सुधारका लागि ठूलो लगानी गरिरहेको उल्लेख गर्दै उनले विद्यालय भवन निर्माण, पाठ्यपुस्तक उपलब्धता, शिक्षक तलब तथा छात्रवृत्तिजस्ता क्षेत्रमा व्यापक खर्च भइरहेको जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिहरूले आफ्नो जिम्मेवारी सही रूपमा जिम्मेवारी निर्वाह गर्न सकेमा सरकारी विद्यालय पनि निजी विद्यालयभन्दा कम नहुने धारणा राखे ।
यसै अवसरमा मुख्यमन्त्री कार्कीले धरानको प्रमुख समस्या पानी रहेको उल्लेख गर्दै प्रदेश सरकार यसको समाधानमा प्रतिबद्ध रहेको बताए ।
उनले गत वर्ष चारवटा डिप बोरिङ निर्माण गरिएकाले केही सहज भएको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि संघीय सरकारसँग समन्वय भइरहेको जनाए ।
Discussion about this post