इटहरी : नेपाल मानव धर्म सेवा समितिको आयोजनामा इटहरीमा एक दिवसीय सद्भावना सम्मेलन सम्पन्न भएको छ।
समितिले विगत ६ दशकदेखि आध्यात्मिक विज्ञान, सत्संग तथा सामाजिक गतिविधिहरूमार्फत सनातन आत्मज्ञानको प्रचारप्रसार गर्दै आएको छ ।
धर्म र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित सम्मेलनमा वैदिक सनातन धर्मको रक्षा तथा आत्मज्ञानको महत्वबारे मार्गदर्शन प्रदान गरियो ।
अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व श्री विभूजी महाराजजीले सम्मेलनलाई सम्बोधन गर्दै मानव जीवनमा अध्यात्मको महत्त्व तथा सद्भाव कायम राख्न आवश्यक उपायबारे मार्गदर्शन गरे ।
उनले भने, जीवन विकासशील छ, संसार सानो बन्दै गएको छ। जसरी बाहिरी संसार खुल्दै गयो, त्यसरी नै हाम्रो मन चञ्चल बन्दै गयो। उनका अनुसार जीवनको अन्तिम लक्ष्य परमात्मासँग मिल्नु हो, जसका लागि आत्मशक्तिको सही ज्ञान आवश्यक छ।
भक्तिमा समर्पणको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले भने, मनभित्र भक्तिमा अहंकार कहिल्यै आउनुहुँदैन। जहाँ संसार छ, त्यहाँ बन्धन पनि हुन्छ। तर, आत्मज्ञानले तपाईलाई त्यो बन्धनबाट मुक्त गर्न सक्छ।
मानिसले ध्यान केन्द्रित गर्न सके मन स्थिर बन्ने उनको भनाइ छ ।
नेपाल मानव धर्म सेवा समितिले महाराजजीको परिकल्पनामा मिसन एजुकेशन कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत शैक्षिक सामग्री संकलन गरी दुर्गम क्षेत्रका गरिब तथा विपन्न बालबालिकालाई वितरण गरिन्छ । हाल देशभरका विभिन्न शाखा आश्रमहरूबाट यो कार्यक्रम सञ्चालन भइरहेको छ।
नेपाल मानव धर्म सेवा समिति २०४३ सालदेखि आध्यात्मिक ज्ञानको प्रचारप्रसारमा सक्रिय रहँदै आएको छ। हाल ९५ वटा आश्रमहरूबाट ५९ जना सन्तमहात्माहरूले ज्ञानको प्रवाह गरिरहेका छन् ।
साथै, समितिले रक्तदान, मन्दिर तथा अस्पताल सरसफाइ अभियान जस्ता विभिन्न सामाजिक कार्यहरूमा पनि सक्रिय भूमिका खेल्दै आएको छ।
सम्मेलनमा नेपालका ख्यातिप्राप्त संगीतज्ञहरू, भक्तिसंगीत कलाकारहरू तथा बालसभा कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा नेपाली लोक बाजा, परम्परागत गायन, तथा भक्तिगीत प्रस्तुत गरिएको थियो ।
Discussion about this post