विराटनगर : विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।
सहिद रंगशालामा बुधबार ६ बजे हुने फाइनलमा चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने थ्री स्टार दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा रहेको छ ।
थ्री स्टारले मच्छिन्द्र र त्रिभुवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको छ ।
थ्री स्टारले क्वाटरफाइलनमा मच्छिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनलमा पुगेको हो ।
यस्तै, विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाईजले क्वाटरफाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
चर्च ब्वाइज र थ्री स्टार यो सिजनको फुटबल मैदानमा पहिलोपल्ट विराट गोल्डकपको फाइलनमा भेट हुँदैछ । लिग बिजेता चर्च ब्वाइजले मच्छिन्द्र र पुलिसजस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले उनीहरुको मनोबल उच्च देखिएको छ ।
यता थ्री स्टार पनि दोस्रोपटक गोल्डकपको उपाधि जितेर इतिहास रच्ने दाउसहित मैदान प्रवेश गर्ने लक्ष्य लिएको छ । थ्री स्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो ।
त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्री स्टारले उपाधि हात पारेको थियो । चर्च ब्वाइजले यो सिजनमा चार वटा गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएको छ ।
यो सिजनमा ९ वटा खेलमा ८ वटा गोल्डकपको फाइलनमा पुग्दा तीन वटा चर्च ब्वाइजले उपाधि जितेको छ । जस मध्ये चर्च ब्वाइजले फिदिम फागुनन्द, झापा कप, र बागमती गोल्कडपको उपाधि जितेको छ ।
सहिद रंगशालमा मंगलबार भएको प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।
चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले विराट गोल्डकपमा पहिलो पटक फाइलनमा पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए ।
‘यो सिजनमा हामीले मोफसलमा भएको तीन वटा गोल्डकपको उपाधि जितेको छौं । विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । उपाधि उचालेर इतिहास रच्ने हाम्रो लक्ष्य रहेको छ,’ प्रशिक्षक श्रेष्ठले भने,’ विराट गोल्डकपसहित यो सिजनको चार वटा उपाधि हामी जित्ने योजना रहेको छ ।’
चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । पहिलो पटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले उपाधि जित्ने विश्वास व्यक्त गरे ।
‘थ्रीस्टार पनि राम्रो टिम हो । फाइलनमा हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौं र उपाधि कब्जा गर्ने हाम्रो एक मात्रै लक्ष्य रहेको छ,’ उनले भने ।
यता थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले मोफसलमा हुने प्रतिष्ठित विराट गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
‘फाइलनमा हामीले क्याप्टेन योगेश गुरुङलाई धेरै मिस गर्नेछौं । डबल यल्लो कार्ड पाएकोले फाइलनमा कप्तान योगेशको खेल हेर्न पाउने छैनौ । तर पनि हामी उत्कृष्ट खेलाडी ल्याउनेछौं,’ उनले भने ।
फाइलनमा कसको कप्तानमा टिम मैदान उतार्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘अहिले हामी टिम वर्कमा छौं । फाइनलमा कसलाई क्याप्टेनको जिम्मा दिने त्यो खेल अगाडी मात्रै थाहा हुनेछ । अहिले हामी छलफलमा छौं ।’
थ्री स्टारका कप्तान योगेश गुरुङले आफू फाइनलमा मैदान प्रवेश नगरेपनि राम्रो टिमवर्क भएकोले उपाधी जित्ने गरि खेलाडी मैदान उत्रिने बताए । प्रतिस्पर्धी टिम बलियो भए पनि रणनीति अनुरूप खेल्दै आफु नभएपनि उपाधि जित्नेमा ढुक्क रहेको उनले बताए ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको बिजेताले ११ लाख र उपबिजेतालाई पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ पुरस्कार छ ।
Discussion about this post