इटहरी : सुनसरी, मोरङ र झापाबाट प्रतिबन्धित लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
मेची बिट र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका ५ स्थितमा चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउनसुगरसहित मे ६ प ९९७७ नम्बरको मोटरसाइकल चालक माई नगरपालिका ५ इलामका ३३ वर्षीय भूपेन्द्र लावती र मोटरसाइकल पछाडि सवार बिर्तामोड ५ का २३ वर्षीय राजीव चौधरीलाई नियन्त्रणमा लिएको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर १७ बाट को २९ प ६४२७ नम्बरको मोटरसाइकल चालक बेलबारी ११ का २९ वर्षीय आशिष राई र मोटरसाइकल पछाडि सवार २९ वर्षीय आशिष तामाङलाई ६ ग्राम १२ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरी प्रहरीका अनुसार धरानका २४ वर्षीय अफ्रोज सिद्धिकीलाई ट्रामाडोल १२० क्याप्सुल र १२० ट्याब्लेटसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post