झापा : गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो ।
भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका थिए । गत पुसमा कचनकवल– ७ की कैलावती राजवंशीले हात्तीको आक्रमणमा परी ज्यान गुमाए । यस वर्ष मात्रै जिल्लामा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाए ।
बितेको १४ वर्षमा हात्तीको आक्रमणमा परी ६४ जनाले जिल्लामा ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक सोनाम भालले जानकारी दिए ।
सोही अवधीमा हात्तीको आक्रमणमा परी मृत्यु हुने विदेशी नागरिकको सङ्ख्या आठ रहेको छ । वि.स. २०६२ देखि हालसम्म झापामा २२ वटा जङ्गली हात्तीको मृत्यु भएको डा. भालले बताए ।
पशु चिकित्सक भालका अनुसार हात्तीको परम्परागत आवागमन क्षेत्रलाई सुरक्षित राख्न बस्ती स्थानान्तरण गर्नुपर्ने भए पनि यो व्यावहारिक रूपमा कठिन छ ।
उनले तत्कालीन उपायको रूपमा सामुदायमा जनचेतना फैलाउन सके मात्र मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिने बताए ।
डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा जङ्गली हात्तीबाट पीडित पाँच सय १० जनालाई राहत वितरण गरिएको छ ।
जसमध्ये दुई जना घाइतेलाई दुई लाख ६१ हजार एक सय २०, घर गोठ क्षति भएका एक सय ४८ घरपरिवारलाई २३ लाख, भण्डारण गरेको अन्न क्षति भएका एक सय २७ परिवारलाई नौ लाख ७९ हजार ४५ र अन्नबाली क्षति भएका तीन सय ७१ परिवारलाई ३४ लाख ५३ हजार चार सय राहत वितरण गरिएको छ ।
कार्यालयका अनुसार चालु आवमा मन्त्रालयबाट चार जना मृतकको परिवारलाई जनही १० लाखका दरले ४० लाख र ३३ जना पीडितलाई ५२ लाख ९९ हजार नौ सय २८ राहत वितरण गरिएको छ ।














Discussion about this post