मोरङ : मोरङको ग्रामथानमा उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।
चाइना भ्रमणमा निस्किएका मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्षलाई दिएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको हो ।
कानुन विपरीत वडाध्यक्षलाई कार्यवहकको जिम्मेवारी दिएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरमा उपाध्यक्ष गुणवतीदेवी थारुले रिट निवेदन दिएकी थिइन् ।
निवेदनमा सुनुवाई गर्दै उच्चले माझीको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । माझीले वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिएर चाइना गएका थिए ।
‘गाउँपालिकाका अध्यक्ष मिति २०८१।१२।२६ बाट विदेश मुलुक चीन भ्रमणमा गई फर्की नआउँदासम्म वहालवाला उपाध्यक्ष रिट निवेदकले अध्यक्षको कार्यभार सम्हाल्न पाउने नै हुँदा प्रत्यर्थी अध्यक्ष नमो नारायण माझीले वडा अध्यक्षलाई अधिकार प्रत्यायोजन गरेको च।नं। १९६९ मिति २०८१।१२।२५ को पत्र र सो सम्वद्ध निर्णयहरु कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ । प्रस्तुत आदेशको जानकारी समेत विपक्षीहरुलाई दिनू,’ उच्चले दिएको आदेशमा भनिएको छ ।
उच्च अदालत विराटनगरका न्यायधीस ध्रुवराज नन्दको एकल इजलासले आज उपाध्यक्ष थारुको रिटमाथिको सुनुवाइ गर्दै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने अध्यक्ष माझीको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।














Discussion about this post