इटहरी : तीव्र गतिको कार इटहरी २० तरहराको पानीपिया जंगलमा कार दुर्घटना भएको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्र–०१–०३० च ४६१८ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा इटहरी १ बस्ने ४० वर्षीय विष्णु राउतको मृत्यु भएको हो ।
तत्काल गम्भीर घाइते भएका उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।
उपचारको क्रममा राति १२ बजेर २० मिनेटमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटना राति ११ बजेतिरको हो । सडकबाट पूर्वतर्फ रहेको जामुनको रूखमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा कार चालक रामधुनी ७ बस्ने ३० वर्षीय विवेक लामा, इटहरी उपमहानगरपालिका ४ बस्ने ४३ वर्षीय गंगा बस्नेत र इटहरी १ बस्ने ३१ वर्षीय कल्याण कटवाल घाइते भएका छन् ।
जसमध्ये चालक लामाको सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनामा मापसे सेवन नखुलेको र त्यसबारे पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कार तीव्र गतिमा रहेका कारण दुर्घटना भएको छ ।














Discussion about this post