विराटनगर : कोशी प्रदेश माओवादी केन्द्रले चुरे तराई लक्षित जनसाङ्गितिक नौ दिने अभियान सुरु गरेको छ ।
माओवादीको केही दिन अगाडि बसेको प्रदेशको सचिवालय बैठकले अभियान चलाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार बुधबार उदयपुरको कटारी बजारबाट ‘चुरे तराई जनसाङ्गितिक अभियान’ सुरू भएको हो । अभियानको माओवादी उपमहासचिव तथा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले उद्घाटन गरे ।
अभियान अन्तर्गत बिहीबार उदयपुरको गाइघाट बजारमा कार्यक्रम गरिएको माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले बताए ।
यस्तै, वैशाख १२ गते उदयपुरको बेल्टार, वैशाख १३ गते सुनसरीको धरान, वैशाख १४ गते मोरङको केराबारी बजार, वैशाख १५ गते मोरङको मधुमल्ला बजार मिक्लाजुङ, वैशाख १६ गते इलामको चुलाचुली, वैशाख १७ गते झापाको बुद्धशान्तिमा र वैशाख १८ गते झापाको बाहुनडाँगीमा गएर टुंगिने उनले बताए ।
अभियानका क्रममा जनसांस्कृतिक महासंघ कोशी प्रदेशका कलाकारहरूले पार्टीको पक्षमा निर्माण गरिएका नाटक, गीत तथा सामूहिक नृत्य र कविताहरू सुनाउने गरेका छन् ।
प्रदेश समितिको आयोजनामा गरिएको कार्यक्रमलाई स्थानीय पार्टीले व्यवस्थापन गरिरहेको नेम्वाङ्ले बताए ।
सांस्कृतिक अभियानमा कलाकारको तर्फबाट भने फ्याक्सन इन्चार्ज राकेश किराँती, अनुशा राईलगायतले नेतृत्व गरेका छन् ।
कार्यक्रममा १–२ जना मात्रै वक्ता राखिएको र पाँच वटासम्म गीत, नृत्य तथा अबको बाटो शीर्षकमा नाटक प्रस्तुति हुने नेम्वाङले बताए ।
उद्घाटन समारोह उत्साहजन रहेको र गर्मीको बीचमा पनि स्थानीयहरू स्वतःस्फूर्त आएको नेम्वाङ्को दाबी छ ।
‘हामीले गाडीबाट मानिस ओसार्ने भनिएको छैन । कार्यक्रम राख्ने भनेर प्रचार गरिएको छ । मानिसहरू स्वतःस्फूर्त आएका छन् । कार्यक्रम उत्साहजनक भएको छ,’ उनले भने ।
माओवादीले यसअघि तराई मधेश हुलाकी राजमार्ग लक्षित कार्यक्रम सञ्चालन गरेको थियो ।












Discussion about this post