विराटनगर : मोरङ, झापा र भोजपुरबाट प्रतिबन्धित औषधी र ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १६ र १७ स्थितबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ केराबारी गाँउपालिका ७ का ३० वर्षीय प्रेम राई र ४४ वर्षीय नवीन चेम्जोङलाई ब्राउनसुगर ४ ग्राम ५० मिलिग्रामसहित र झापा दमक ५ की २८ वर्षीया सानु माझी र २० वर्षीया अनिता माझीलाई प्रतिबन्धित औषधी ३६ एम्पुलसहित पक्राउ गरेको छ ।
त्यसैगरी झापाको मेचीनगर ६ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी २५ वर्षीया सरु राई र २० वर्षीया सुजता राईलाई ब्राउनसुगर ६ सय १० मिलिग्रामसहित पक्राउ गरेको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय गौरीगञ्जले झापा कमल गाँउपालिका ६ का २९ वर्षीय हरिचन्द्र कार्कीलाई १ ग्राम ४ सय ३० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर १२ कोट डाडाँका २२ वर्षीय सञ्जीव श्रेष्ठलाई प्रतिबन्धित औषधी ट्रमाडोल र स्पासपेन गरी २५२ चक्कीसहित पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post