इटहरी : कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले खोटाङ–तराई जोड्ने वैकल्पिक बाटो फोक्सिङ्टार–धाप्लाङघाट सडकको टर्याक खोल्न शुभारम्भ गरेका छन् ।
राईले खोटाङ बराहपोखरी गाउँपालिका वडा ३ स्थित लामाचौरमा पूजापाठ गरी टर्याक खोल्न शुभारम्भ गरेका हुन् ।
मन्त्री राईले गाउँपालिका अध्यक्ष शालिकराम बन्जारा, उपाध्यक्ष भुवलराज राई, वडाध्यक्षहरूलगायत नागरिक समाजको उपस्थितिमा टर्याक खोल्ने कार्यको शुभारम्भ गरे ।
कार्यक्रममा राईले उक्त टर्याक खुलेपछि खोटाङको तराईसँग जोड्ने बैकल्पिक बाटो हुने र त्यसले खोटाङको आर्थिक उन्नयनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
‘विकासमा पछाडि पारिएको खोटाङको विकास पहिलो प्राथमिकतामा राखेर अहिलेको प्रदेश सरकारले काम गरिरहेको सर्वविधितै छ,’ उनले भने, ‘असोज ९ गतेदेखि १२ गतेसम्म आएको बाढीले फोक्सिङ्टारको पुल बगाएपछि खोटाङ नाकाबन्दी परेको सबैलाई महशुस गराएपछि यो बाटोलाई दिक्तेल बजारसम्म पुर्याउन सबैको ध्यान तान्यो र बजेट व्यवस्थापन गरेर आज टर्याक खोलने कार्यको औपचारिक रूपमा सुरुवात हुन पुग्यो ।’
यो बाटो सुचारु गर्न आवश्यक धाप्लाङघाटको पुल बनाउने आफूले गरेको प्रतिबद्धता अनुसार अहिले द्रुत गतिमा काम भइरहेको र अब चाँडै पुल सञ्चालन हुने अवस्था निर्माण भएको उनको भनाइ थियो ।
धाप्लाङघाटको पुल बनेपछि दिक्तेलसम्मको बाटो जोडिएर खोटाङलाई तराईसँग जोड्ने बैकल्पिक बाटो बनाउन टर्याक खोलने कार्यको शभारम्भ गरिएको मन्त्री राईले बताए।
बराहपोखरी गाउँपालिका अध्यक्ष बन्जाराले अहिले काम बढी र कुरा कम गर्ने बेला आएको बताए । उनले राजनीतिक नेतृत्वहरूले अहिलेसम्म कुरा धेरै गरिसकेकोले अब काम गर्नुपर्ने बेला आएको र काम गरेर जनताको आशा र भरोसा जगाउनेतर्फ अग्रसर भएको बताएका हुन् ।
फोक्सिङ्टार–धाप्लाङ्सम्मको ९ किलोमिटर सडकको टर्याक खोल्न प्रदेश सरकारले गत वर्ष ३५ लाख र चालु आर्थिक वर्षमा ८५ लाख बजेट विनियोजन गरेर काम अगाडि बढाएको थियो ।












Discussion about this post