इटहरी : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ढिलो परीक्षा, ढिला नतिजा र प्रशासनिक अन्योलताका कारण विदेशिने विद्यार्थीहरूको संख्यामा वृद्धि भइरहेका बेला त्रिविले अब परीक्षा प्रणाली सुधार गर्न लागिपरेको देखिएको छ।
बिहीबार इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा आयोजित अन्तरक्रियात्मक कार्यशालामा त्रिवि रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले त्रिविको परीक्षा प्रणालीलाई अधिक विकेन्द्रीकृत, पारदर्शी र निष्पक्ष बनाउने दिशा अघि बढाइएको जानकारी दिए।
‘मैले कोर्ष बनाउन पाइँन । मैले कोर्ष पढाउन र कोर्षको उत्तरपुस्तिका जाँच गर्न पाउँदिन भने त्यो महत्व हुँदैन,’ उनले भने, ‘मैले ताप्लेजुङमा पढाउँछु भने काठमाडौँको अनकन्टारमा बसेर डिजाइन बनाएको कोर्ष पढाएर हुँदैन । त्यो कुन कन्टेक्समा कोर्ष डिजाइन गरेको थियो ? त्यसको भावना के थियो ? कसरी पढाउने भन्नेबारे जान्नुपर्छ ।’
सम्बन्धित ठाउँको भौगोलिक, राजनीतिक र सामाजिक परिवेश र विद्यार्थीको मानसिकतासहित वातावतरणले ठूलो प्रभाव पार्ने उनी बताउँछन् ।
त्रिवि ठूलो विश्वविद्यालय भएका कारण सबै समस्याको समाधान एकैपटक नभएपनि क्रमशः समस्या समाधान हुने उनले बताए ।
‘हाम्रो परीक्षा प्रणालीलाई कसरी सुधार गर्न सकिन्छ ? एउटा सेन्टर तोक्दा यति धेरै राजनीतिक पार्टीहरूको फोन आउँछ, त्यो तपाईँ कल्पनै गर्न सक्नुहुन्न । के हो त राजनीतिक पार्टीहरूको त्यही कलेजमा त्यही पालिकामा सेन्टर राख्ने मस्कर ?,’ रजिष्ट्रार रिजाल भन्छन्, ‘अझै पनि हाम्रा विद्यार्थीहरूलाई विदेश पठाउने हो त ? के कारण मेरै पालिकामा, त्यही सेन्टरमा परीक्षा हुनुपर्छ ?’
एउटा विद्यार्थीले बीसौँ हजार रुपैयाँ रकम खर्च गरेर परीक्षा दिन टाढासम्म जानुको कारण पछाडि पनि केही रहस्य रहेको उनले बताए । परीक्षाको केन्द्र कहाँ तोक्ने, राजनीतिक बायस हुन नपाइने, सामाजिक बायस हुन नपाइने उदृत गर्दै उनले विद्यार्थीलक्षित योजना ल्याउनमा त्रिवि अग्रसर रहेको बताए ।
‘यो देशका युवाहरूले म यो देशमा पढेको हुँ, मैले राम्रो जाँच दिएको छु, म अब्बल नागरिक हो भन्ने अनुभूति दिलाउने काम हाम्रो हो,’ रिजाल भन्छन्, ‘अहिले पनि एउटा विद्यार्थी बीसौँ हजार खर्च गरेर परीक्षा दिन पुगिरहेको हुन्छ । त्यो पछाडि केही न केही रहस्य छ नि त ? त्यो समाधान कसरी गर्ने ? यसबारे पर्याप्त छलफल हुन जरूरी छ । कापी जाँचमा एकरूपता कसरी ल्याउने यसबारे हामी सचेत हुनैपर्छ ।’
खासगरी प्राध्यापकहरूले कोही विद्यार्थीलाई पनि बायस हुन नहुने उनले निर्देशन दिए । एउटा र अर्को विद्यार्थीबीच विभेद हुन नदिन र कहिँ न कहिँ त्यस्ता गुनासाहरू आएको उनले उल्लेख गरे । कोशी प्रदेशमा विराटनगरको परीक्षा नियन्त्रण कार्यालयबाटै नतिजा अब्बल बनाएर अन्य प्रदेशका सिकाउने रोल मोडलको काम गर्नुपर्ने उनले बताए ।
उत्तरपुस्तिका मूल्याङ्कनमा सुधार
“एउटै कक्षामा ४८ जना छन्, एकले ९० पाउँछ अर्कोले ३५, त्यहाँ केही गम्भीर समस्या छ,” भन्दै रिजालले एकरूपता मूल्याङ्कन प्रणालीको आवश्यकता बताउँदै बायस हटाउन निर्देशन दिए।
रिजालले भने, ‘अलिकति पारदर्शी र विवेकपूर्ण तरिकाले परीक्षा प्रणालीलाई सुधार गर्यौँ भने हामीलाई लाग्ने ब्लेम केही हदसम्म सुधार हुन्छ । यसका लागि राजनीतिक प्रेसर थाम्ने काम मेरो भयो ।’
परीक्षालाई कसरी सुधार गर्ने भन्नेबारे पर्याप्त बहस आवश्यक
ग्रासरुटको समस्या थाहा पाउन सम्बन्धित क्षेत्रमै पुग्नुपर्ने भएकाले सम्बन्धित क्याम्पस र भूगोलका विद्यार्थीहरूको समस्या थाहा पाउन उक्त कार्यक्रमको आयोजना गरिएको उनले जनाए ।
साथै, कोशी प्रदेशको परीक्षा र समग्र त्रिविको परीक्षा सुधार गर्नका लागि उनले सुझावसमेत माग गरे ।
उनले भने, ‘यो देशमा अहिलेको जेनेरसनले देश छाड्नुको कारणमध्ये शिक्षालाई पनि अलिकति ब्लेम लागेको छ । उनीहरूलाई संरक्षण गर्नका लागि परीक्षा पनि एउटा कारण हो, त्यसकारण परीक्षालाई कसरी सुधार गर्ने भन्नेबारे पर्याप्त बहस आवश्यक छ ।’
कार्यक्रममा त्रिवि शिक्षाशास्त्र सङ्कायका डिन प्रा.डा. वेदराज आचार्यले उत्तपरपुस्तिका व्यवस्थापन र एकरूपताबारे आफ्ना धारणा व्यक्त गरे ।
‘जस्तोसुकै क्याम्पस भएपनि राम्रो काम गरौँ । हाम्रो पाठ्यक्रम एउटा छ, क्याम्पसमा अर्कै पाठ्यक्रम छ,’ उनले भने, ‘अहिले पनि एउटा पाठ्यक्रम अध्यापन हुने र अर्को पाठ्यक्रममा परीक्षा लेख्नुपरेका गुनासाहरू आइरहेका छन् ।’
परीक्षामा उत्तरपुस्तिका जाँच गर्दा भएका गल्तीलाई आगामी दिनमा दोहोरिन नदिन प्राध्यापकहरू सचेत हुनुपर्ने उनले बताए ।
उक्त कार्यक्रममा रजिष्ट्रार रिजाल, डिन आचार्य, विषय विज्ञ डा. रमेश सापकोटा, केन्द्रीय परीक्षा सञ्चालक सदस्य शत्रुघ्नप्रसाद गुप्ता, प्रा.डा. टोलानाथ काफ्लेले अवधारणासहित प्रस्तुतिकरण राख्नेछन् ।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न क्याम्पसका प्राध्यापकहरू सहभागी थिए ।
उद्घाटन कार्यक्रममा जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसी, क्याम्पस प्रमुख डा. गीता अधिकारी, डिग्री क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगर, वरुण बहुमुखी क्याम्पस सङ्खुवासभाकी त्रित्ररेखा कार्की, मेची बहुमुखी क्याम्पसका प्रमुख देवी आचार्यलगायतले बोलेका थिए ।














Discussion about this post