इटहरी : सुनसरीको धरान उपमहानगरपालिका १३ र इटहरी उप महानगरपालिका २० स्थितबाट ४ हजार २ सय ३० किलोग्राम लागूऔषध गाँजा बोकेको दुई वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
धरान १३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १-०२-००२ ख ०८४८ नम्बरको ट्रकमा चेकजाँचको क्रममा ७० वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद गरेको हो ।
यसैगरी मंगलबार (आज) इटहरी २० स्थित तरहरा जंगल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ना ५ ख ६११६ नम्बरको ट्रकमा ७० वटा प्लास्टिकको बोरामा प्याक गरी माथिबाट बन्दा कोवी र आलुको बोराले छोपी ल्याउँदै गरेको अवस्थामा २ हजार १ सय किलोग्राम गाँजा बरामद गरेको हो ।
लागूऔषध गाँजा बरामद भएसंगै ट्रक चालक धनकुटा शहिदभूमी गाउँपालिका ६ का राजेन्द्र राईसहित सोही स्थानका सुनील राई र बराहक्षेत्र ९ का सुमन राईलाई नियन्त्रणमा लिइएको छ ।
चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ६ स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारले पाख्रिवास नगरपालिका ८ का नारायण प्रसाद राईलाई ९ किलो ९०० ग्राम लागूऔषध गाँजासहित नियन्त्रणमा लिएको छ ।
तीन वटै घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।














Discussion about this post