इटहरी : सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित लिटिल बड्ज एकेडेमी (बोर्डिङ स्कुल)को बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
मंगलबार दिउँसो करिब ४ः२० बजेतिर स्कुल बसबाट ओर्लिने क्रममा स्थानीय श्रवण उरावका ३ वर्षीय छोरा आयुष उरावलाई बसको पछाडिको चक्काले किचेको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
ग १ ख २०१२ नम्बरको स्कुल बसबाट ओर्लने क्रममा बालक चक्कामुनि परेका थिए। घटनापछि स्कुल बस चालक गढी ३ का विनोद कुमार मेहता फरार छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय छिटाहाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेम राउतको कमाण्डमा १० जना प्रहरी टोली घटनास्थल पुगेको थियो।
थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा इलाका प्रहरी कार्यालय दुहबीबाट अर्को टोली खटिएको थियो।
प्रहरीका अनुसार घटनास्थलमा एक सय जना भन्दा बढी स्थानीय भेला भएका थिए । घटनास्थलको अवस्था अहिले सामान्य रहेको सुनसरी प्रहरीको भनाइ छ। स्कुल बसलाई प्रहरी नियन्त्रणमा लिइएको छ।
शवलाई पोष्टमार्टमका लागि प्रारम्भमा जिल्ला अस्पताल इनरुवा पठाइएको भए पनि ब्रेन विशेषज्ञ नहुँदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।














Discussion about this post