विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्न पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।
प्रेस चौतारी नेपाल मोरङले मंगलबार (आज) आयोजना गरेको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न पत्रकारिता क्षेत्रले आफ्नो ठाउँबाट भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
उनले लोकतन्त्रका लागि पत्रकारिता क्षेत्रले खेलेको भूमिका स्मरणीय गरेको चर्चा गर्दै यो क्षेत्रलाई बलियो बनाएर लैजानुपर्ने बताए।
मुख्यमन्त्री कार्कीले अहिलेदेखिका प्रदेशका सबै समस्याहरू हल भएर जाने र यो वर्ष झन् उत्कृष्ट काम हुने बताए।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गत वर्ष चालु र पूँजीगत गरी ८१ प्रतिशत खर्च गरी सात प्रदेशमा पहिलो भएको दाबी गरे।
उनले राजनीतिक स्थायित्वको कारण प्रदेश सरकारले गर्त वर्ष आन्तरिक राजश्व ४ अर्ब ९८ करोड लक्ष्य लिएकोमा ९८ प्रतिशत संकलन गर्न सफल भएको र यो अघिल्लो आर्थिक वर्ष भन्दा सात दशमलव पाँच प्रतिशतले वृद्धि भएको जानकारी गराए।
कार्यक्रमको अवसरमा प्रेस चौतारी नेपाल मोरङका निवर्तमान अध्यक्ष सुदीप कोइरालालाई नगद १५ हजारसहित स्वर्गीय जनार्दन मैनाली पुरस्कारबाट सम्मानित गरिएको छ। उक्त पुरस्कार प्रेस चौतारी मोरङले हरेक वर्ष प्रदान गर्दै आएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्काले पत्रकारिता क्षेत्रमा काम गर्नेलाई प्रदान गर्ने पुरस्कारले उर्जा दिने बताए।
चौतारी मोरङकी अध्यक्ष चिना थापा र चौतारीका मोरङ इन्चार्ज सुमन सुस्केरालगायतले बोलेका थिए।














Discussion about this post