इटहरी : सुनसरीको रामधुनी नगरपालिका–८ डुम्राहास्थित भित्री पक्की सडकखण्डमा चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
शनिबार बिहानको राति ३ः३० बजेतिर इनरुवाबाट डुम्राहातर्फ जाँदै गरेको को ३८ प १६३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार रामधुनी–८ का २१ वर्षीय आनन्द सिंह खवासको उपचारका क्रममा मृत्यु भएको हो । खवासको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ ।
मोटरसाइकल चालक २२ वर्षीय मुकेश साह, २० वर्षीय दीपनारायण चौधरी र २८ वर्षीय अभिषेक सिंह घाइते भएका छन् । उनीहरूको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चार जना सवार भएकाले ट्राफिक नियम उल्लंघन भएको र अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post