झापा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कनकाई नगरपालिका–८ बिरिङ खोला पुलमा पिकअप र मारुती भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार सुरुंगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र विपरीत दिशाबाट आइरहेको मे १ च ३४४० नम्बरको भ्यान ठोक्किएर दुर्घटना भएको थियो ।
घटनामा भ्यान चालक गम्भीर घाइते भए पनि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकको पूर्ण विवरण खुलिसकेको छैन।
भ्यानमा सवार शिवसताक्षी–७ निवासी ४० वर्षीय पृथ्वीनाथ शाह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी शाह, छोरा प्रसन्न शाह र छोरी प्रिन्सा शाह घाइते भएका छन्। उनीहरूको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न पिकअप र पिकअप चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post