विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालको स्वास्थ्य सेवामा एक महत्वपूर्ण फड्को मार्दै स्त्री तथा प्रसूति सेवाका लागि समर्पित २ सय बेडको अत्याधुनिक भवन सञ्चालनमा ल्याएको छ ।
महिला स्वास्थ्य सेवालाई थप विशिष्टीकृत र सुविधायुक्त बनाउने उद्देश्यले निर्माण गरिएको यो भवनको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले गरे ।
नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपीक स्त्री तथा प्रसूति केन्द्रको रूपमा रहेको यस अस्पतालमा अप्रेशन थिएटरको संख्या २४ पुगेको छ। यसअघि विभिन्न शल्यक्रियाका लागि १९ वटा अप्रेशन थिएटर सञ्चालनमा रहेका छन् ।
यो नयाँ विस्तारसँगै अस्पतालले स्त्री तथा प्रसूति सेवाका लागि मात्रै ५ वटा अत्याधुनिक शल्यक्रिया कक्ष (अप्रेशन थिएटर), २ सय बेड क्षमताको वार्ड, ३० बेडको डिलक्स क्याबिन र छुट्टै गाइनो आइसीयू जस्ता विशिष्ट सुविधाहरू थप गरेको छ ।
सन् २०१४ मा स्थापना भएको विराट मेडिकल कलेज शिक्षण अस्पताल छोटो समयमै कोशी प्रदेशकै अग्रणी स्वास्थ्य संस्थाको रूपमा स्थापित भएको छ ।
स्त्री तथा प्रसूति जस्तो संवेदनशील सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन हामीले समर्पित भवन र अत्याधुनिक उपकरणसहितको सेवा विस्तार गरेको अस्पतालका अध्यक्ष तथा प्रोफेसर डा. ज्ञानेन्द्रमान सिंह कार्की बताए । उनले यस कदमले महिला बिरामीहरूलाई अझै उत्कृष्ट र सुरक्षित उपचार प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
अस्पतालमा एक सय बेड क्षमताको इमरजेन्सी विभाग सञ्चालनमा रहेको छ । जसमा स्त्री तथा प्रसूति आपतकालीन सेवा पनि समावेश रहेको उनले जनाए ।
यसका साथै, अस्पताल नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रको रूपमा पनि परिचित छ । हाल अस्पतालमा २० जनाभन्दा बढी विशेषज्ञ स्त्री रोग तथा प्रसूति चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्दै आएका छन् ।














Discussion about this post