पाँचथर : पाँचथरको याङवरक गाउँपालिका–२ स्थित ईवा खोलामा आएको आकस्मिक बाढीका कारण खोलाको बीच भागमा फसेका चार जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।
खोलामा पाहा मार्न गएका फिदिम नगरपालिका–४ का १९ वर्षीय प्रतीक तामाङ, २३ वर्षीय झल्ला सम्बाहाम्फे, २८ वर्षीय शेरबहादुर मगर र ताप्लेजुङ सिदिङवाका २२ वर्षीय सन्तोष पन्धाक आकस्मिक बाढीका कारण बीच बगरमा फसेका थिए।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी फलैँचा, इलाका प्रहरी कार्यालय च्याङथापु र अमरपुरबाट खटिएको प्रहरी टोली उद्धारका लागि पुगेको थियो।
पानी परिरहेको र भेल बढिरहेको कारण तत्काल उद्धार कठिन भएपछि प्रहरी टोलीले मंगलबार रातभर उनीहरूलाई खानको लागि चाउचाउ र आगो ताप्नका लागि लाईटर ढुंगामा पोको पारेर उपलब्ध गराएको थियो।
ठूलो ढुंगाको ओतमा रात काटेका चार जनालाई बुधबार स्थानीयको सहयोगमा बाँसको अस्थायी पुल बनाएर सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।














Discussion about this post