मोरङ : मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला परेको छ।
शनिबार बिहान शौचालयभित्र रोएको आवाज आएपछि कर्मचारीले खोज्दा करिब १ किलो २०० ग्राम तौलको भर्खर जन्मिएको छोरा शिशु भेटिएको अस्पतालले जनाएको छ। तत्कालै प्रहरीलाई खबर गरी शिशुलाई उद्धार गरिएको हो।
अभिभावक पत्ता नलागेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीको समन्वयमा शिशुलाई एन्जल फाउन्डेसनमार्फत झापाको दमकस्थित कियोच बाल अस्पतालमा लगिएको छ।
फाउन्डेसनका जनरल म्यानेजर सन्तोष कार्कीका अनुसार शिशु हाल एनआईसीयूमा भर्ना भई चिकित्सकको निगरानीमा उपचार भइरहेको छ। तत्कालका लागि सम्पूर्ण उपचार खर्च फाउन्डेसनले नै बेहोरेको उनले जानकारी दिए।
यसबीचमा नवजातलाई शौचालयमा छाडेर जाने आमाको खोजी सुरु भएको प्रहरीले जनाएको छ।
सोही समयमा अस्पतालमा आवतजावत गर्ने व्यक्तिहरूको विवरण संकलन र सीसीटीभी फुटेजमार्फत अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।














Discussion about this post