इटहरी : सुनसरीको कोशी गाउँपालिका–८, कोशी बाँध ३ नम्बर नोज नजिक जंगली हात्तीको आक्रमणमा परेर एक व्यक्तिको मृत्यु भएको छ ।
शनिवार बिहानको राति करिब १ः१५ बजेतिर कोशी ७ बस्ने ४५ वर्षीय सराचन सदा सुतिरहेको अवस्थामा हात्तीले ढाडमा टेकेर जंगलतर्फ गएको प्रहरीले जनाएको छ । सदा माछा मार्न र दाउरा झिक्न गएको समयमा बाँध नजिकै सुतेका थिए ।
गम्भीर घाइते भएका सदालाई सुरुमा कोशी हेल्थ केयर भाण्टावारीमा उपचार गरिएको थियो । अवस्था जटिल भएपछि थप उपचारका लागि भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा लगिएकोमा चिकित्सकले बिहान ३ः२४ बजेतिर मृत घोषणा गरेका हुन् ।
सँगै गएका ४४ वर्षीय गणु सदा र ३८ वर्षीय सैनी सदा भने हात्ती आक्रमणबाट भाग्न सफल भएका थिए ।
घटनाबारे राति करिब १ः३० बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भाण्टावारीका पूण्य अधिकारीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय भाण्टावारीबाट करिब १.५ किलोमिटर उत्तर–पश्चिममा पर्छ ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवाको शव गृहमा राखिएको छ ।














Discussion about this post