इटहरी : प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जेन–जी पुस्ताको आक्रोश इटहरीमा सडकसम्म पुगेको छ ।
भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै बिहान ११ बजेदेखि सुरु भएको प्रदर्शन दिउँसो प्रहरीसँग प्रत्यक्ष झडपमा बदलिएको छ ।
इटहरी उपमहानगर कार्यालय अगाडि सुरु भएको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।
झडपमा प्रहरी र प्रदर्शनकारी दुबै पक्षका केही घाइते भएका छन् । अश्रुग्यास प्रहारपछि केहीबेर तितरबितर भएका किशोर–किशोरी फेरि सडकमै फर्किएर आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।
कलेज छुट्टीसँगै भेला भएका विभिन्न विद्यालय र कलेजका छात्रछात्रा हातमा प्लेकार्डसहित नाराबाजी गर्दै नगर परिक्रमा गरिरहेका छन् । उनीहरूले “भ्रष्ट नेता मुर्दावाद, वी वान जस्टीस” जस्ता नाराले नगर गुन्जाएका छन् ।
भ्रष्टाचारविरुद्ध मात्र नभई, हालै सरकारले गरेको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति आक्रोशित हुँदै किशोर–किशोरी सडकमा उत्रिएको देखिएको छ ।
स्थानीय सरोकारवालाहरूका अनुसार जेन–जी पुस्ताले देखाएको यो आक्रोश केवल भ्रष्टाचार वा सामाजिक सञ्जालमा सीमित नभई राजनीतिक नेतृत्वप्रतिको असन्तोष र अविश्वासको सङ्केत पनि हो ।














Discussion about this post