इटहरी : विराटनगरमा जेन–जी पुस्ताले कोशी प्रदेशसभा भवनभित्र प्रवेश गर्न खोज्दा स्थिति तनावपूर्ण बनेको छ।
सयौं युवाहरू पूर्व र पश्चिम दिशाबाट प्रदेशसभा सचिवालयतर्फ अघि बढ्दा प्रहरीसँग धक्का–मुक्की भएको थियो। ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ। केही क्षेत्रमा लाठीचार्ज समेत गरिएको प्रहरीले जनाएको छ।
प्रदेशसभा सचिवालय प्रवेश प्रयासका क्रममा दोहोरो झडप भएको छ। उनीहरूले सडकमा टायर बाल्दै विरोध प्रदर्शन चर्काएका छन् भने यातायात पनि अवरुद्ध भएको छ। यसैगरी जलजला चोकमा रहेको प्रहरी बिटमा आगजनी भएको छ भने एक मोटरसाइकलमा समेत आगजनी भएको प्रहरीले पुष्टि गरेको छ।
प्रदेशसभा सचिवालय अगाडि कर्फ्यु उल्लंघन गरी अघि बढेका युवामाथि प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी झन् उग्र बनेका छन्। प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्जमार्फत भिडलाई तितरबितर गर्न खोजेको छ भने प्रदर्शनकारीहरूले सडकमा निरन्तर नाराबाजी गरिरहेका छन्।
विराटनगरका विभिन्न क्षेत्रमा तनाव कायमै रहेको छ। त्यहाँ पुष्पलालको शालिक समेत तोडफोड भएको छ।














Discussion about this post