झापा : जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई जना कैदीबन्दी झापाको सीमावर्ती क्षेत्रमा पक्राउ परेका छन् ।
लागूऔषध ओसारपसार कसुरमा दोषी ठहरिएकी झापा गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीकी ५० वर्षीया अञ्जली खातुन पक्राउ परेकी हुन् । उनले काठमाडौंको सुन्धारा कारागारमा सजाय भोगिरहेका बेला भदौ २४ गते आन्दोलनकै अवसरमा फरार भएकी थिइन् ।
गएराति करिब ११ः१५ बजे सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्ज र इलाका प्रहरी कार्यालय गौरीगञ्जको संयुक्त गस्ती टोलीले गौरीगञ्ज–५ मलाहा टोलमा गस्ती गर्ने क्रममा भारततर्फ भाग्दै गरेकी खातुनलाई नियन्त्रणमा लिएको हो ।
अहिले उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, काठमाडौंको कारागारबाट भागेका मोरङ विराटनगर–३ का सुरज कामतलाई भारतीय सीमा क्षेत्रमा पक्राउ गरिएको छ ।
भारत–नेपाल सीमामा पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
कामत मोरङको आमवारी हुँदै ई–रिक्सा र पैदल भारततर्फ प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए ।
लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका उनलाई बिहीबार इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post