इटहरी : सब ठीकठाक भएको भए इटहरी १६ का २३ वर्षीय अभिषेक श्रेष्ठ आज (शनिबार) साउदी अरब उडिरहेका हुन्थे।
तर, भाग्यले उनलाई फरक मोडमा डोर्यायो। जहाँ टिकट र भिसा हातमै थिए, तर विमान चढ्ने ठाउँमा उनी शववाहनमा कहिल्यै नउठ्नेगरी फर्किए।
चार वर्षसम्म इटहरीको बर्गर हाउसमा पसिना बगाएका अभिषेकको लक्ष्य परिवारलाई सम्हाल्ने र आफ्ना सपना पूरा गर्ने थियो।
सस्तो श्रम बेचेर जीवन सुधार्ने चाहना बोकेका उनी “अन्तिम पारिश्रमिक लिन” गएको बर्गर हाउसबाट घर फर्किने बाटोमै लड्न पुगे। गोली लागेर उनको जीवनै समाप्त भयो।
इटहरी उपमहानगरको भीडभाडमा उनी प्रदर्शनकारी थिए कि सामान्य यात्रु भन्ने अहिलेसम्म स्पष्ट छैन। तर परिणाम भने परिवारले छोरो गुमायो। दुबईमा श्रम बेचिरहेका बुबाले “उडान” होइन, “अन्त्येष्टि” का लागि नेपाल फर्किनु पर्यो।
“बर्गर हाउसबाट पैसा मागेर ल्याउँछु भनेर गएका थिए,” माइजु तारा श्रेष्ठको आवाज अझै थर्थराइरहेको छ, “फर्किँदै गर्दा नाकमा गोली लागेछ, हिँड्दै गर्दा ढलेछन्।”
भदौ २३ मा भएको जेन–जी आन्दोलनले १९ जनाको ज्यान लियो। त्यसै दिन इटहरीमै गोली लागेर मृत्यु हुनेमध्ये एक बने अभिषेक। उनीसँगै इटहरी–१४ का मोहन सदाको पनि प्राण गयो।
अभिषेकको आमा, भाइबहिनीसहित आफन्त एवम् छरछिमेकी विक्षिप्त छन् । उनका साथीहरू भन्छन्, “विदेश उड्ने तयारी गरिरहेका थिए, अब त हाम्रो साथी नभेटिनेगरी टाढा गयो।”
सपनाको टिकट हातमै भएर पनि आकाश छुन नपाएको कथा अभिषेकको मात्रै होइन, हजारौं नेपाली युवाको पीडा हो।
छोराको मृत्युपछि अभिषेकका बुबा दुबइबाट आजै नेपाल फर्किएका छन्। उनको शव हाल धरानस्थित बीपी प्रतिष्ठानमा राखिएको छ ।














Discussion about this post