इटहरी : पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिवार दिउँसो भएको बलेरो दुर्घटनामा मृतक ६ जनाको पहिचान खुलेको छ ।
मिक्वाखोला गाउँपालिका–४, साँवाबाट धरानतर्फ आउँदै गरेको मे १ ज ३०५५ नम्बरको बलेरो करिब तीन सय मिटर तल खस्दा ६ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ताप्लेजुङको मेरिङदेन–५ की २८ वर्षीया मनीषा कार्की, मेरिङदेन–४ की २१ वर्षीया गीता हाङगाम, मेरिङदेन–२ का ३३ वर्षीय विनोद लुङवा, सिदिङवा–१ की २९ वर्षीया युना तामाङ, मेरिङदेन–५ का २५ वर्षीय धनकुमार लिम्बू र ३२ वर्षीय अभिषेक लिम्बू रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पुष्टि गरेको छ ।
मृतक सबैजनाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाइने प्रहरीको भनाइ छ ।
यसैगरी घाइते हुनेमा मेरिङदेन–५ का २२ वर्षीय महेश लिम्बू, मिक्वाखोला–४ की २५ वर्षीया मनु साँवा लिम्बू, कालिखोलाका ७ वर्षीय सन्तोष लिम्बू, इटहरी–७ का ३५ वर्षीय महेश गुरागाईँ, मेरिङदेन–५ का २५ वर्षीय विमल लिम्बू र मिक्वाखोला–४ का २९ वर्षीय सञ्जुहाङ लिम्बू रहेका छन् ।
उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post