उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ ।
दुर्घटनामा परी एक जनाको अवस्था गम्भीर रहेको छ ।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार मोटसाइकल दुर्घटनामा मृत्यु हुने कटारी–४ का १६ वर्षीय सम्राट खड्का रहेका छन् । अर्का घाइते सोही स्थान बस्ने १८ वर्षीय राजमणि कटुवाल रहेका छन् ।
कटारीबाट सिन्धुली जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प ६९९० नम्बरको मोटरसाइकल गएराति ११ बजे तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
मोटरसाइकलमा सवार चालक खड्का र मोटरसाइकल पछाडि बसेका कटवाल दुवैको अवस्था गम्भीर भएकाले तत्काल प्रादेशिक अस्पताल कटारीमा ल्याएर उपचार गर्ने क्रममा खड्काको अस्पतालमा नै मृत्यु भएको प्रहरीको भनाइ छ ।
कटवालको थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post