झापा : सस्तो दरमा सुन किन्ने–बेच्ने प्रस्तावमा फस्दै काठमाडौंमा व्यवसाय गर्ने झापाको शिवशताक्षी नगरपालिका–१० माइधारका ३२ वर्षीय सञ्जय शर्माको योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ।
दसैं–तिहार मनाउन झापा आएका शर्मा आपराधिक गिरोहको जालमा मात्र परेनन्, सस्तो सुन किनाइदिने प्रलोभनका कारण आफ्नै ज्यान गुमाए।
प्रहरी अनुसन्धान अनुसार, काठमाडौंमा व्यवसाय गर्दै आएका शर्माले केही समयदेखि सस्तो सुन खोज्दै आएका थिए। उनी स्थानीय सुनील साहसँग चिनजानमा थिए र साहलाई पनि सुन खोज्न आग्रह गरेका थिए।
सुनीलले यो अवसरलाई लुटपाटको योजनामा बदल्दै शर्माविरुद्ध योजनाबद्ध आपराधिक षड्यन्त्र रचे ।
उनले आफ्ना भान्जा राहुल साह र एक भारतीय नागरिकको सहयोगमा योजना तयार गरे । पैसा लुट्ने, अपहरण गरी भारत लैजाने र फिरौती असुल्ने।
तर ठगी र फिरौतीभन्दा हत्या गर्न सजिलो भयो ।
गत कात्तिक ९ गते, सुनीलले शर्मालाई ‘सुन ल्याएर गाडेको ठाउँ देखाउँछु’ भन्दै अर्जुनधारा नगरपालिका–४, दहीझोडा सामुदायिक वनमा लगे।
साँझ साढे ५ बजे एकान्त स्थान पुगेपछि, सुनील र राहुलले हथौडा प्रहार गरी हत्या गरे।
त्यसपछि, एक भारतीय नागरिकको सहयोगमा शवलाई झापा गाउँपालिका–५, विरिङ खोलाको बगरमा गाडियो।
हत्या पछि उनीहरूले शर्माकै बा.प्र.०१–३० च ७१९४ नम्बरको गाडीमा शव पु¥याएर पछि उक्त गाडीलाई मेचीनगर–१२, निचाझोडा सिमसार क्षेत्रमा लगेर आगजनी गरी प्रमाण मेटाउने प्रयास गरे।
तर प्रहरीले घटनास्थल वरिपरिबाट शर्माको चप्पल र अन्य प्रमाण फेला पारेपछि घटनाको शृङ्खला पुनर्निर्माण गर्न सफल भयो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, डीएसपी खगेन्द्रबहादुर खड्काले घटनामा संलग्न स्थानीय २७ वर्षीय सुनील साह र २३ वर्षीय राहुल साहलाई पक्राउ गरिएको जानकारी दिए ।
ती दुवै मामा–भान्जा हुन्। उनीहरूले प्रारम्भिक सोधपुछका क्रममा अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भारतीय नागरिक भने हालसम्म फरार छन् र उनको खोजी तीव्र पारिएको छ।
प्रहरीले पक्राउ परेकामाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिएको छ।
शर्माको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।














Discussion about this post