इटहरी : सुनसरीको इनरुवा नगरपालिका–७ चाँदबेलामा सशस्त्र प्रहरीले बिहीबार बिहान गाँजा बोकेको स्कारपियो नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरेको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले हवाई फायर गरेको हो ।
बी.ओ.पी सोहेवगञ्जबाट सशस्त्र प्रहरी निरीक्षक महेश कुमार कार्कीको कमाण्डमा खटिएको गस्ती टोलीले शंकास्पद रूपमा दक्षिणतर्फ गइरहेको बा १५ च २१७३ नम्बरको स्कारपियो पिकअप र को २७ प ८३३१ नम्बरको मोटरसाइकललाई रोक्न खोजेपछि भाग्ने क्रममा हवाई फायर गरिएको हो ।
गस्ती टोलीका अनुसार मोटरसाइकलले स्कारपियोलाई स्कर्टिङ गर्दै तस्करी गरिरहेको आशंकामा चेकजाँच गर्न खोज्दा नियन्त्रणमा लिन सुरक्षा फोर्सले एक राउण्ड हवाई फायर समेत गर्नुपरेको थियो।
हवाई फायरपछि स्कारपियो रोकिन पुगेको र चालक इनरुवा नगरपालिका–७ चाँदवेलाबाट २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
तर, स्कर्टिङमा संलग्न अन्य मोटरसाइकलमा सवार १०–१२ जना भने फरार भएका छन् ।
तस्करीमा प्रयोग भएको स्कारपियो र मोटरसाइकलसहित ६ पोका गाँजा बरामद गर्न प्रहरीले सफल भएको छ।
पक्राउ परेका चौधरीसहित बरामद गरिएको गाँजा र सवारी साधनहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ।













Discussion about this post