सङ्खुवासभा : सङ्खुवासभामा एक व्यक्तिले श्रीमतीको हत्या गरी शव गाडेर आफैँ प्रहरीकहाँ पुगेर उजुरी दिएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाकाअनुसार मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पाले गत मंसिर ९ गते राति करिब १०ः३० बजेतिर आफ्नी श्रीमती ३७ वर्षीया मीना शेर्पाको हत्या गरेका हुन् ।
मादी नगरपालिका–४ ओखरबोटे बजारबाट घर फर्कने क्रममा बाटोबाटै बेपत्ता भएको भन्दै प्रेमले प्रहरी चौकी मादी मङ्गलबारेमा निवेदन दिएका थिए ।
प्रहरीले खोजतलास गर्ने क्रममा श्रीमान् प्रेममाथि नै शङ्का लागेर सोधपुछ गर्दा उनले आफैले हत्या गरेको स्वीकार गरेका हुन् ।
प्रेमले सो राति बजारबाट घर फर्कने क्रममा सामान्य विषयमा विवाद हुँदा बाटोमा नै कुटपिट गरी श्रीमतीको हत्या गरेको बताएका थिए ।
हत्यापछि सोही राति मादी नगरपालिका–३ स्थित आफ्नै अलैँची बारीमा शवलाई त्रिपालमा बेरेर खाडल खनी गाडेको प्रहरीलाई बताएका थिए ।
उनको बयानपछि इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमान्डमा खटिएको अनुसन्धान टोलीले लासको उत्खनन गर्दा जमिनभित्र त्रिपालले बेरेको अवस्थामा महिलाको शव सडेगलेको अवस्थामा फेला पारेको थियो ।
प्रहरीले तत्काल प्रेमलाई पक्राउ गरी सङ्खुवासभा जिल्ला अदालत चैनपुरबाट आइतबार कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेको छ ।












Discussion about this post