तरहरा : इटहरी उपमहानगरपालिका–२० नं. वडा कार्यालयले आफ्नो बहुसांस्कृतिक पहिचान उजागर गर्दै सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यसहित पुस ९ गते विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
“अनेकतामा एकता, वडा नं. २० तरहराको विशेषता” भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रमबारे आइतबार वडा कार्यालय भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार तरहरामा बसोबास गर्ने विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रमअन्तर्गत पुस ९ गते बुधवार बिहान १० बजेदेखि तरहरा बजार परिक्रमा गरिनेछ। त्यसपछि सगरमाथा खेल मैदानमा विविध जातजातिका सांस्कृतिक प्रस्तुति तथा औपचारिक कार्यक्रम सञ्चालन हुनेछ।
श्रेष्ठले तरहरालाई बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजको प्रतिनिधि क्षेत्रका रूपमा उल्लेख गर्दै यस्ता कार्यक्रमले स्थानीय पहिचानलाई संस्थागत गर्न मद्दत पुग्ने बताए।
उनले धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्दै सामाजिक सद्भाव कायम राख्नु नै कार्यक्रमको मूल उद्देश्य रहेको स्पष्ट पारे ।
सोही अवसरमा तरहरा निवासी नृत्यकर्मी आस्मा विश्वकर्मालाई सम्मान गरिने कार्यक्रम पनि राखिएको छ।
वडा सदस्य तथा कार्यक्रम संयोजक तनुज गुरुङ (सुरेश)ले स्थानीय प्रतिभाको पहिचान, सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम समावेश गरिएको बताए।












Discussion about this post