इटहरी : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी परिसरमा निर्माण सम्पन्न भएको ४ कोठे नयाँ भवन ट्राफिक प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
शनिवार कार्यालय परिसरमा आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा उक्त भवन हस्तान्तरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले भवन निर्माण गरी ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको बताए। उनले पूर्वाधार विकासका क्षेत्रमा इटहरी उपमहानगरपालिका निरन्तर सहयोग गर्न प्रतिबद्ध रहँदै आएको उल्लेख गरे।
सो अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले नवनिर्मित भवनले ट्राफिक प्रहरीको कार्यसम्पादनलाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले सेवाग्राहीले अझ छिटो र गुणस्तरीय सेवा पाउन आफू प्रतिवद्ध रहेको बताए।
इटहरी उपमहानगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा, नागरिक समाज, उद्योग वाणिज्य संघ तथा विभिन्न संघ–संस्थाको पहलमा उक्त भवन निर्माण सम्पन्न भएको हो।
एकतले टिनको छाना रहेको उक्त भवनमा एक ब्यारेक हल र तीनवटा कार्यालय कोठा रहेका छन्।













Discussion about this post