इटहरी : तेस्रो इन्टर कलेज टी–२० टुर्नामेन्ट अन्तर्गत शनिवार भएको पहिलो खेलमा नमुना कलेज, इटहरीले विश्व आदर्श कलेज ‘बी’ टिमलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
विश्व आदर्शले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नमुना कलेजले ४ विकेटको क्षतिमा १५५ रन बनाएको थियो। नमुना कलेजका लागि गौरव कट्वालले २० बलमा ४० रन, राजु बिकले २२ बलमा ३३ रन र बिपुल शाहले २१ रनको योगदान दिए।
बलिङतर्फ विश्व आदर्शका अनिल आचार्य र जस्बिन ढुंगानाले १–१ विकेट लिए।
१५६ रनको लक्ष्य पछ्याउने क्रममा विश्व आदर्श कलेज १० ओभर १ बलमै सबै विकेट गुमाउँदै ५३ रनमै समेटियो। आदर्शका तर्फबाट पौल सिग्देलले १२ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नमुना कलेजका बलर प्रकाश कार्कीले ३ ओभर १ बलमा मात्र ३ रन खर्चँदै ५ विकेट लिए। यस्तै, सुबित मेहताले ३ विकेट र गौरव कट्वालले १ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेका प्रकाश कार्की म्यान अफ द म्याच घोषित भए।
शनिवारकै दोस्रो खेलमा जनता माध्यमिक विद्यालय, इटहरी र रेड स्टार कलेज, पथरीबीच प्रतिस्पर्धा भएको थियो। जनता माविले रेड स्टारलाई ३ विकेटले पराजित गरेको छ।
रेड स्टार कलेजले टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८३ रन बनायो। ८४ रनको लक्ष्य पछ्याएको जनता माविले १५ ओभर २ बलमा ७ विकेटको क्षतिमा ८४ रन बनाउँदै लक्ष्य पार गर्यो।













Discussion about this post